काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्। कीर्तिपुरस्थित सुकुमवासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद् भएको बताए।
निरीक्षणका क्रममा उनले सेल्टरमा रहेका सुकुमवासीहरूको अवस्था निकै कष्टकर रहेको र हालसम्म त्यहाँ ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको जानकारी दिए। विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले बसोवासको अन्योलताका कारण बालबालिकाहरूको शिक्षा र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरे।
हालैको आत्महत्याको घटनालाई दुःखद् भन्दै यस्ता विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले सरकारसँग दुई तिहाइको बहुमत र पाँच वर्षको स्पष्ट कार्यकाल रहेकाले हतारमा निर्णय नगरी सुझबुझपूर्ण ढङ्गले अघि बढ्न सुझाव दिए।
अध्यक्ष घिसिङका अनुसार विस्थापितहरूलाई हाल राखिएको होल्डिङ सेन्टर आफैँमा डुबान क्षेत्र हो र एउटै टेन्टमा धेरै परिवार कोच्चिएर बस्नुपर्ने बाध्यता स्वास्थ्य र सामाजिक दृष्टिकोणले उपयुक्त छैन। धेरै बालबालिकाको परीक्षा प्रभावित भएको, स्वास्थ्योपचारमा कठिनाइ भइरहेको तथा रोजगारी र व्यवसाय गुम्दा बैंकको ब्याज तिर्न नसकेर विस्थापितहरू मानसिक तनावमा रहेको उनले बताए।
पहिले व्यवस्थापनको योजना बनाएर मात्र बस्ती हटाउनु पर्नेमा सरकारले उल्टो बाटो रोज्दा समस्या जटिल बनेको उनको भनाइ छ। सुकुमवासी समस्या देशैभरिको साझा समस्या भएको उल्लेख गर्दै उनले वास्तविक सुकुमवासी र सरकारी जग्गा हडप्ने सम्पन्न वर्गबीच पहिचान हुनुपर्ने बताए। संविधानले प्रत्याभूत गरेको आवास र भूमिको अधिकारलाई कुण्ठित नगर्न आग्रह गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई जोडेर एकीकृत व्यवस्थापनको खाका ल्याउन सरकारलाई आग्रह गरे।