पछिल्लो २४ घण्टामा विपद्जन्य घटनाबाट पाँच जनाको मृत्यु, ११ जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
367
Shares
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएका छुट्टाछुट्टै विपद्जन्य घटनामा परी पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु र रोल्पामा गरी पाँच जनाको ज्यान गएको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले दिएको जानकारी अनुसार मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरमा भएका विपद्जन्य घटनामा अन्य ११ जना घाइते भएका छन् ।
विपद्को विवरण अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ । त्यस्तै, रोल्पाको गङ्गादेव गाउँपालिका–३ रातमाटामा अचानक आएको खहरे भेलले बगाउँदा दुई जना बालकको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लाहरूमा कुल २५ वटा विपद्जन्य घटनाहरू दर्ता भएका छन् । यी घटनाहरूबाट ६३ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।