arrow

शंकरको प्रश्न - आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?

सरकार ऊर्जा क्षेत्रको विकास र उपयोगमा उल्टो बाटोमा हिँड्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
shankar-pokhrel-12-28.jpg

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोगका सम्बन्धमा सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको यस कदमप्रति कडा आपत्ति जनाएका हुन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्नका लागि भन्दै सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अहिले आएर ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै उनले आलोचना गरे। सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्, “आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?”

नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रहरूमध्ये एक भएको उल्लेख गर्दै महासचिव पोखरेलले यतिबेला स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई बढीभन्दा बढी प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। यस्तो अवस्थामा विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको उनको ठहर छ।

पेट्रोलियम पदार्थको अभाव र महँगी बढिरहेको वर्तमान समयमा 'ग्रिन इनर्जी' (हरित ऊर्जा) लाई प्रवर्द्धन गर्नुपर्नेमा सरकारले उल्टै विद्युतीय गाडी (इभी) को प्रयोगलाई समेत दुरुत्साहन गर्ने गरी बजेटमार्फत करको भार थपेको उनले बताए।

बजेटको आकार ठुलो बनाउने र आयस्रोत देखाउने बहानामा यस्तो निर्णय गरिएको भए सरकारले तत्काल आफ्नो गल्ती सच्याउनुपर्ने माग उनले राखेका छन्। सरकार आफैँले नाफा लिएर बिक्री गरिरहेको विद्युत्को खपत बढ्दा उल्टै भ्याट लगाएर जनताको ढाड सेक्ने काम गर्न नहुने उनको भनाइ छ। सरकारले कर थोपर्नुको साटो आयात प्रतिस्थापन गर्न र उत्पादनशील क्षेत्रमा विद्युत्को अधिकतम उपयोग बढाउन जनतालाई प्रेरित गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ