पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गर्न ३७ अर्ब ४६ करोड विनियोजन, २७५ सडक पुल निर्माण गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
1.1k
Shares
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले एक हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य सरकारको रहेको जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षमै कमला-कञ्चनपुर तथा नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति सम्पन्न गरिनेछ ।
यस्तै, आगामी वर्ष कांकडभिट्टा-लोकही, कमला-बागमती, बुटवल-गोरुसिङ्गे तथा धानखोला-लमही सडकखण्डअन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढाइने भएको छ ।
साथै बागमती-पथलैया, नारायणगढ-हेटौंडा र गोरुसिङ्गे क्षेत्रमा १४ ओटा सडक स्तरोन्नति आयोजना शुरू गरिने बजेटमा उल्लेख छ ।
सरकारले आगामी आर्थिक वर्षमा करिब एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने तथा दुई सय ७५ ओटा सडक पुल निर्माण गर्ने योजनासमेत अघि सारेको छ ।