म्यारियट र सीजीका व्यवस्थापकहरूले भेटे अर्थमन्त्रीलाई
'द रिट्च कार्लटन' नेपाल भित्रिनु सुखद : अर्थमन्त्री वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
253
Shares
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटेल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु मुलुकको पर्यटन क्षेत्रका लागि सुखद भएको बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियट र नेपाली साझेदार चौधरी समूह (सीजी) का व्यवस्थापकहरूसँगको विशेष भेटघाटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा बहुप्रतिष्ठित लक्जरी होटेल 'द रिट्च कार्लटन' सञ्चालन गर्ने घोषणा गरेको भोलिपल्ट उनीहरू बिच मन्त्रालयमा भेटवार्ता भएको हो।
भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका लागि नयाँ उत्कृष्ट गन्तव्य थपिदिएकामा धन्यवाद दिए। 'द रिट्च कार्लटन' जस्तो विश्वविख्यात ब्रान्डको उपस्थितिले विश्वका अर्बपतिहरूलाई नेपाल भित्र्याउन ठुलो मद्दत पुग्ने उनको विश्वास छ।
वर्तमान सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर काम गरिरहेको स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले म्यारियट र द रिट्च कार्लटन समूहलाई काठमाडौँ उपत्यका बाहिर पनि आफ्ना ब्रान्ड र व्यवसाय विस्तार गर्न आग्रह गरे। उनले विदेशी लगानीको सुरक्षा, प्रवर्द्धन, आवश्यक पूर्वाधार विकास एवं कानुनी सहजीकरणमा सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
अर्थमन्त्रीसँगको भेटमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियटले नेपाल विश्वस्तरीय पदयात्रा (ट्रेकिङ) गन्तव्य र हिमालहरूको देश भएको उल्लेख गर्दै यसलाई विश्व बजारमा थप फैलाउने काम 'द रिट्च कार्लटन' ले गर्ने बताए। नेपालमा आफ्नो प्रतिष्ठित ब्रान्ड घोषणा गर्न पाउँदा अत्यन्तै खुसी मिलेको भन्दै उनले आगामी दिनमा थप लगानी विस्तार गर्ने प्रतिबद्धतासमेत जनाए।
अध्यक्ष म्यारियटले भने, "नेपाल प्रचुर पर्यटन सम्भावना भएको सुन्दर देश हो। विश्वस्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशलाई 'द रिट्च कार्लटन' को उपस्थितिले विश्वभर एउटा सकारात्मक र सुखद सन्देश दिनेछ।"
भेटघाटमा सहभागी सीजी हस्पिटालिटी होल्डिङ्स तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानीका अवसरहरूको प्रचुर सम्भावना भएको मुलुक रहेको बताए। देशमा नयाँ सरकार बनेपछि निजी क्षेत्र र विदेशी लगानीकर्ताहरूमा नयाँ उत्साह थपिएको भन्दै उनले व्यावसायिक सहजताका लागि सरकारबाट यथेष्ट साथ र नीतिगत सहयोग अपरिहार्य रहेको औँल्याए।
उक्त महत्त्वपूर्ण भेटवार्तामा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, म्यारियट एसिया प्यासिफिक (चीनबाहेक) का अध्यक्ष राजीव मेनन र अर्थमन्त्रीको सचिवालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।