सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्ले [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
926
Shares
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट हो । जसलाई रास्वपाको चुनावी ’वाचापत्र’लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको छ।
राष्ट्रिय स्रोत अनुमान समितिले सुरुमा १८ खर्ब ९० अर्ब रुपैयाँको सुरुवाती सीमा (सिलिङ) तोकेको भए पनि त्यसलाई नाघेर अर्थमन्त्रीले करिब २१ देखि २२ खर्ब रुपैयाँको ठूलो आकारको महत्वाकांक्षी बजेट ल्याउने तयारी गरेका हुन्। चालू आर्थिक वर्षमा करिब डेढ खर्ब रुपैयाँको घाटा र न्यून राजस्व संकलनको सामना गरिरहेको कठीन परिस्थितिका बाबजुद नयाँ सरकारप्रतिको उच्च जनआकांक्षा सम्बोधन गर्न यो ठूलो आकारको लक्ष्य लिइएको हो।
यस बजेटले देशको आर्थिक विकासका लागि केही दूरगामी राष्ट्रिय लक्ष्यहरू अगाडि सारेको छ । जसअनुसार आगामी ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकारलाई १०० अर्ब डलर पुर्याउने र १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने दीर्घकालीन योजना राखिएको छ।
बजेट भाषण सकिएपछि संसद्का दुवै सदनहरूमा बजेटसँग सम्बन्धित कानुनी मस्यौदाहरू टेबुल गर्ने कार्यसूची तय गरिएको छ। संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिसकेपछि साढे ५ बजे प्रतिनिधि सभाको छुट्टै बैठक बस्नेछ।
जसमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रतिलिपि टेबुल गर्नेछन् र साथमा 'आर्थिक विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी पौने ६ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रतिलिपि टेबुल गर्ने कार्यक्रम रहेको छ।