सिटौला भन्छन्- देशको राजनीति ठीक ढङ्गले अगाडि बढिरहेको छैन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
752
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस कार्यकर्ताहरू पुनः जागरुक हुनुपर्ने बताएका हुन्।
नेता सिटौलाले मुलुकको राजनीतिक वृत्त अहिले सही ढङ्गले अगाडि नबढेको टिप्पणी गर्दै राज्य सञ्चालनका प्रमुख अङ्गहरू—न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र संसद् लगायतका गतिविधिहरू सन्तोषजनक नरहेको औँल्याए।
नेपाली कांग्रेसको इतिहास स्मरण गर्दै नेता सिटौलाले वि।सं। २००७ सालको क्रान्तिमा तराई क्षेत्र, विशेष गरी विराटनगर, जनकपुर र वीरगन्जले खेलेको नेतृत्वदायी भूमिकाको चर्चा गरे। तराईकै क्रान्तिको बलमा नेपालमा प्रजातन्त्रको उदय भएको र जनताले ‘रैती’ बाट ‘नागरिक’ को पहिचान पाएको उनको भनाइ छ। २००७ सालको क्रान्ति नेपालको आधुनिक युगको प्रादुर्भाव भएको उल्लेख गर्दै तत्कालीन नेतृत्वले आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि गरेको त्याग नै आजको प्रेरणाको स्रोत रहेको उनले बताए।