जिल्ला अदालत घेराउ गर्ने मिटरब्याजी पीडितहरूको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
620
Shares
काठमाडौँ । मिटरब्याजी पीडितहरूले आगामी जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन्। बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्डले यसबारे जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले आगामी मङ्गलवार मिथिला कमाण्ड र भोजपुरा कमाण्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा धनुषा जिल्ला अदालत घेराउ गरिने बताए। आफूहरू विगत १२ दिनदेखि निरन्तर आन्दोलनमा रहे पनि राज्यपक्ष आफ्ना मागहरूका प्रति गम्भीर नभएको उनले आरोप लगाए।
इन्चार्ज महतोले भने, “हामी विगत १२ दिनदेखि आन्दोलनमा छौँ। १२ दिनसम्म पनि पीडितहरूको कुरा सुनिएको छैन। छलफलमा समेत मिटरब्याजी साहुहरूले वास्ता गरेनन्। पीडितहरूको समस्यालाई बेवास्ता गरिएकाले अब हामी आन्दोलनलाई थप सशक्त बनाउँदै अगाडि बढाउँदैछौँ। यही जेठ १९ गते मिथिला कमाण्डको आयोजनामा हामी धनुषा जिल्ला अदालत घेराउ गर्नेछौँ।”
यो आन्दोलन र अदालत घेराउ कार्यक्रमका लागि मधेश प्रदेशभरिबाट करिब ८ हजारदेखि १० हजारको सङ्ख्यामा मिटरब्याज पीडितहरू जनकपुरधाममा सहभागी हुने मिथिला कमाण्डले जनाएको छ।