पोखरा। फिर्केखोला अतिक्रमण हटाउने अभियानअन्तर्गत दोस्रो दिन सोमबार थप ३१ ओटा साना तथा ठूला संरचना हटाइएका छन् । पोखरा महानगरपालिकाले शुरू गरेको अभियानमा दुई दिनमा ५१ ओटा संरचना भत्काइएको महानगरले जनाएको छ ।
खोलाको प्राकृतिक बहाव पुनःस्थापना गर्ने र अतिक्रमित सार्वजनिक जमिन खाली गराउने उद्देश्यसहित महानगरले डोजर परिचालन गरेको हो । दोस्रो दिन वडा नम्बर १८ र २ को सीमाक्षेत्रमा छ ओटा संरचना हटाइएका छन् । त्यस्तै वडा नम्बर ४ र ५ मा छ ओटा पक्की तथा तीन ओटा कच्ची संरचना भत्काइएको छ ।
पहिलो दिन आंशिक रूपमा हटाइएको पोखरा–८ स्थित राधाकृष्ण सामुदायिक भवनलाई पनि सोमबार पूर्ण रूपमा हटाइएको छ । सोही क्षेत्रमा थप छ ओटा पक्की र नौ ओटा कच्ची संरचना हटाइएको महानगरले जनाएको छ ।
अभियानमा तीन ओटा जेसीबी र दुई ओटा एक्स्काभेटर प्रयोग गरिएको छ । सुरक्षा र व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा प्राविधिक कर्मचारी परिचालन गरिएको महानगरले जनाएको छ ।
नगर प्रमुख धनराज आचार्यले फिर्केखोलालाई व्यवस्थित र आकर्षक क्षेत्रका रूपमा विकास गरिने बताएका छन् । उनका अनुसार खोला खाली गरिसकेपछि त्यहाँ साइकल लेन, फुटपाथ, हरियाली प्रवर्द्धन तथा लाइटिङसहितको पूर्वाधार निर्माण गरिनेछ ।
महानगरले फिर्केखोलाको बहाव क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने र दुवै किनारमा सार्वजनिक बाटो तथा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ। अतिक्रमण हटाउने अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने महानगरको भनाइ छ ।