अतिक्रमित संरचनाहरूमा केही विद्यालय, विभिन्न टोल तथा जातीय संगठनका समाज घरहरू, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन र वडा नम्बर १७ स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल एपीएफको तालिम केन्द्रको भवनसमेत
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
453
Shares
तस्बिर : रासस र नेपाल फोटो लाइब्रेरी ।
पोखरा । कास्कीस्थित पोखरा महानगरपालिकाले फिर्केखोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन आइतबार बिहानदेखि डोजर परिचालन गरेको छ।
फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो।
महानगरले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान अघि बढाएको हो। शनिबार ३५ दिने अल्टिमेटम सकिएको थियो । त्यसअघि अतिक्रमण गरी बनाइएका संरचनाबाट धमाधम आफ्ना सामान बसोबास गरेकाहरूले सारेका थिए ।
वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।
यस अभियान अन्तर्गत खोलाघर खाली गर्ने कार्य तीन मुख्य स्थानबाट एकैसाथ सुरु गरिएको छ। पोखरा–२ र १८ को सिमाना अन्धेरिकुनादेखि वडा नं ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिर क्षेत्रदेखि वडा नं ५ र ८ तर्फ ,पोखरा–७ र ८ को सिमाना जिरो किलोमिटरस्थित लायन्स भवन क्षेत्रदेखि वडा नं ६ तर्फ अभियानका लागि एक्साभेटर, जेसीबी र टिपर परिचालन गरिएको छ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा काम भइरहेको महानगरले जनाएको छ। अभियानको शुभारम्भ जिरो किलोमिटरबाट महानगर प्रमुख धनराज आचार्यले गरेका छन्। उनी स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरेका छन् ।
कति छ अवैध संरचना ?
महानगरपालिकाले २०८० साउनमा फिर्केखोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नापजाँच गरेको थियो। सो अध्ययनका क्रममा ८ किलोमिटर लामो यस खोलाको बहाव क्षेत्र र मापदण्डभित्र १६० भन्दा बढी अवैध संरचनाहरू निर्माण भएको तथ्य फेला परेको थियो।
महानगरको प्रतिवेदन अनुसार ती संरचनाहरूमध्ये ९७ वटा व्यक्तिगत अस्थायी घरहरू छन् भने बाँकी स्थायी संरचना रहेका छन् ।
अतिक्रमित संरचनाहरूमा केही विद्यालय, विभिन्न टोल तथा जातीय संगठनका समाज घरहरू, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन र वडा नम्बर १७ स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्रको भवनसमेत पर्दछन्।
महानगरपालिकाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै मापदण्डभित्रका संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन आह्वान गरेको थियो। सूचनाको अवज्ञा भएपछि महानगरले आइतवार बिहानैदेखि फिर्केखोलाका तीन फरक स्थानबाट डोजर चलाएर संरचना भत्काउन शुरु गरेको हो।