काठमाडौँ । गत वैशाख महिनामा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा देशभर १२४ वटा सवारी दुर्घटना भएका छन् र ती दुर्घटनाहरूमा परी १२ जनाको मृत्यु हुनुका साथै १७४ जना घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाभित्र मात्रै ३७ वटा सवारी दुर्घटना भएका थिए । जसमा २ जनाको मृत्यु र ५० जना घाइते भए।
त्यस्तै कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा २ जनाको मृत्यु र ५३ जना घाइते भएका छन् भने मधेस प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन्। बागमती प्रदेशमा भएका १२ वटा दुर्घटनामा १ जनाको मृत्यु र १९ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा ५ दुर्घटनामा ४ जनाको मृत्यु तथा ३ जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा ९ वटा दुर्घटनामा ३ जनाको मृत्यु र १५ जना घाइते हुँदा कर्णाली प्रदेशमा ३ वटा दुर्घटनामा ३ जना घाइते भएका छन् र सुदूरपश्चिम प्रदेशमा भएका ३ दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।
मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएकाले ट्राफिक नियमको पूर्ण पालना गर्न प्रवक्ता काफ्लेले सबै चालकहरूलाई आग्रह गरेका छन्। विशेषगरी रातिको समयमा, सार्वजनिक बिदा तथा विभिन्न पर्व-उत्सवका अवसरमा मापसे गरी सवारी चलाउने क्रम बढी देखिने गरेको बताउँदै उनले यो आफैँमा गम्भीर कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गरे।
यसैबीच ट्राफिक प्रहरीले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै सहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा चेकजाँचमा कडाइ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार मापसे गर्ने चालकहरूलाई कानुनी कारबाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन भइरहेका छन्।
मादक पदार्थ सेवन गरेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना अत्यधिक रहने हुनाले सुरक्षित यात्राका लागि जिम्मेवार बन्दै सवारी चलाउँदा पूर्ण सतर्कता अपनाउन उनले सम्पूर्ण चालक तथा सर्वसाधारणलाई अनुरोध गरेका छन्।