arrow

ड्रोनबाटै वन गस्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
drone-mustang.jpg

काठमाडौँ । मुस्ताङको कठिन भूगोल र मानव बस्ती नभएका विकट उच्च हिमाली क्षेत्रको सुरक्षाका लागि पहिलो पटक अत्याधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्च लेक, खर्क तथा पाटनहरूमा वन र वन्यजन्तुको निगरानी गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ड्रोन प्रविधिमार्फत गस्ती सुरु गरेको हो।

मुस्ताङमा यसअघि चलचित्र, डकुमेन्ट्री वा विभिन्न चाडपर्वका श्रव्यदृश्य छायाङ्कनका लागि मात्र ड्रोन प्रयोग हुने गरेकोमा वन अनुगमन र वन्यजन्तु संरक्षणकै उद्देश्यले एक्यापले पहिलो पटक यो अत्याधुनिक सेवा सञ्चालनमा ल्याएको हो।

विशेष गरी एक्याप क्षेत्रभित्र पर्ने वन तथा वन पैदावारको अवैध दोहन रोक्न, दुर्लभ वन्यजन्तुको चोरी–शिकारी नियन्त्रण गर्न र वन क्षेत्रमा हुनसक्ने अन्य अवाञ्छित गतिविधिहरूलाई समयमै निरुत्साहित गर्न यो प्रविधि निकै प्रभावकारी हुने देखिएको छ। एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीका अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ को लुप्रा लेक तथा घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखु लेक लगायतका दुर्गम स्थानहरूमा यसै ड्रोनको सहायताले सफलतापूर्वक वन गस्ती र अनुगमनको कार्य सम्पन्न भइसकेको छ।

अहिले मुस्ताङका उच्च पहाडी क्षेत्रहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्ने सिजन चलिरहेकाले एक्याप जोमसोमले यस एआई ड्रोनमार्फत विशेष छड्के अनुगमन गरिरहेको छ। यार्सागुम्बा सङ्कलनका लागि लेक पुगेका व्यक्तिहरूबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप, उच्च हिमाली भेगमा वन्यजन्तु मार्नका लागि गैरकानुनी रूपमा पासो थाप्ने वा बन्दुक बोकेर शिकार गर्ने प्रवृत्ति र मानवीय लापरबाहीका कारण हुनसक्ने डढेलो वा आगलागीको जोखिमलाई न्यूनीकरण गर्न यो प्रविधिले ठूलो मद्दत पुर्‍याएको छ।

गस्तीका लागि प्रयोगमा ल्याइएको यो एआई ड्रोन प्राविधिक रूपमा पनि निकै शक्तिशाली र उच्च क्षमताको रहेको छ। जम्मा १,०६३ ग्राम तौल भएको यो ड्रोन नियन्त्रण केन्द्रबाट एकै पटक १५ देखि २० किलोमिटरको ठूलो हवाई दुरीसम्म पुगेर तस्बिर तथा भिडियोहरू सङ्कलन गर्न सक्षम छ। साथै, यसले समुद्री सतह वा उडान बिन्दुबाट ६ किलोमिटरको उचाइसम्म पुगेर प्रतिघण्टा ९० देखि ९७ किलोमिटरको तीव्र गतिमा उडान भर्न सक्ने भएकाले मुस्ताङ जस्तो तीव्र हावा चल्ने र विकट हिमाली आकाशमा पनि यसले छिटोछरितो रूपमा निगरानी गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ