arrow

दश महिनामा साढे तीन अर्ब बढी राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
tax-office-bhadrapur.jpg

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (वैशाख मसान्त) सम्ममा ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम सोही अवधिका लागि सरकारले तय गरिदिएको कुल लक्ष्यको ८२ दशमलव २१ प्रतिशत मात्र हो।

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा ४ अर्ब ४० करोड १५ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। यसैगरी, वैशाख महिनामा मात्र ४२ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र राजस्व उठ्न सकेको उनले जानकारी दिए।

कार्यालयको आधिकारिक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सबैभन्दा बढी आयकर शीर्षकबाट राजस्व सङ्कलन भएको छ। जसअनुसार आयकरबाट १ अर्ब ६८ करोड ६८ लाख ६७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबाट १ अर्ब २८ करोड ८० लाख १० हजार रुपैयाँ तथा अन्तःशुल्क (Excise Duty) बाट ४९ करोड ९७ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

लक्ष्यको शतप्रतिशत प्रगति हासिल हुन नसके पनि कार्यालयले करदाता सचेतना कार्यक्रम, बजारको नियमित अनुगमन तथा कर प्रशासनलाई चुस्त र प्रभावकारी बनाउँदै आगामी दिनमा राजस्व सङ्कलनको दरलाई अझ वृद्धि गर्ने प्रयास जारी राखेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ