निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्न कमला पन्तको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
489
Shares
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद कमला पन्तले निर्माण व्यवसायीहरूको समस्या, पुरानो भुक्तानी तथा जनता आवास कार्यक्रमबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।
उहाँले निर्माण व्यवसायीहरू काम छोडेर “हात बाँधेर बस्नुपर्ने अवस्था” आएको भन्दै अघिल्ला वर्षहरूमा गरिएको कामको भुक्तानी अझै नपाएको गुनासो व्यापक रहेको बताइन्। भुक्तानी कहिलेसम्म दिइन्छ, त्यसका लागि कति बजेट छुट्याइएको छ र भुक्तानी नहुँदा निर्माण कार्य अघि बढ्न नसक्ने अवस्था रहेको उनले प्रश्न उठाइन्।
सांसद पन्तले जनता आवास कार्यक्रम अहिले “बस्ती विकास” नाममा सञ्चालन भइरहेको उल्लेख गर्दै पालिकाहरूलाई समयमै बजेटसम्बन्धी जानकारी नपाउँदा लक्षित लाभग्राही पहिचानमा समस्या भएको बताइन्। जनप्रतिनिधिलाई पहिल्यै जानकारी भए आवश्यक परिवार छनोट प्रभावकारी हुने उनको भनाइ थियो।
उनले भनिन्, “अहिले निर्माण व्यवसायीहरू निर्माण कार्य छोडेर हात बाँधेर बसेका छन् भन्ने सुनिन्छ। उनीहरूले पुरानो भुक्तानी पाएका छैनन् रे भन्ने पनि सुन्नमा आएको छ। त्यो भुक्तानी कहिलेसम्म दिइन्छ? कति बजेट छुट्याइएको छ? भुक्तानी नदिई निर्माण कार्य अघि बढ्छ भन्ने अपेक्षा सरकारले गरेको छ कि छैन?”
त्यस्तै, उनले बुढीगण्डकी जलविद्युत आयोजनाबारे पनि प्रश्न उठाउँदै एक अर्ब रुपैयाँको बजेटले आयोजना अघि बढ्न सक्ने वा नसक्ने विषयमा सरकारको स्पष्टता माग गरिन्। विगतका सरकारी प्रतिबद्धता र हालको योजनाबारे पनि उनले जिज्ञासा राखेकी छन्।