काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा परेर भारतको बिहार राज्य पुर्याइएका र त्यहाँ जोखिमपूर्ण अवस्थामा रहेका छ जना नेपाली बालबालिकाको सकुशल उद्धार गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावास र मानव अधिकारको क्षेत्रमा कार्यरत सामाजिक संस्था ‘किन इन्डिया’ को संयुक्त पहल तथा सक्रियतामा उनीहरूको उद्धार गरिएको हो।
उद्धार गरिएका बालबालिकालाई अहिले सुरक्षित स्थानमा राखिएको छ र उनीहरूलाई चाँडै स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिए। उद्धार टोलीमा खटिएका प्रतिनिधिहरूले भारततर्फको आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरिसकेलगत्तै बालबालिकालाई नेपाल ल्याइने बताएका छन्।
उद्धार गरिएका ६ जना बालबालिकामध्ये चार जना कोशी प्रदेशका स्थायी बासिन्दा हुन्। उनीहरूलाई नेपाल ल्याएपछि तत्काल पारिवारिक पुनर्मिलन गराउनुअघि आवश्यक मनोसामाजिक परामर्श र सुरक्षित संरक्षणका लागि मोरङ लैजाने योजना बनाइएको छ।
संस्थाका अनुसार यी बालबालिकाहरू एउटै समूहबाट नभई फरक-फरक घटना र माध्यमहरूबाट सीमा पार गरी भारत पुगेका थिए। उनीहरू त्यहाँ पुग्नुको पछाडि मानव बेचबिखनको प्रयास, बालश्रम वा अन्य प्रलोभन हुन सक्ने अनुमान गरिएको छ।
बालबालिकाको सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै घटनाको विस्तृत विवरण र प्रकृतिबारे नेपाल ल्याएर थप परामर्श तथा अनुसन्धान गरेपछि मात्रै सार्वजनिक गरिने जनाइएको छ।