arrow

बजेटको प्राथमिकता र सिद्धान्तमाथिको छलफल

शिक्षा र स्वास्थ्यमा पर्याप्त बजेट विनियोजन गर्न बासना थापाको सुझाव [भिडियो]

अर्थतन्त्रका चुनौती सुधार्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
bashna-thapa-1.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई विशेष सुझाव दिएको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (बजेटको प्राथमिकता र सिद्धान्त) माथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले यस्तो सुझाव दिएकी हुन्।

प्रमुख सचेतक थापाले मुलुकको अर्थतन्त्रमा देखिएका गम्भीर चुनौतीहरू अहिले पनि यथावत् रहेको जिकिर गर्दै त्यसमा सुधार ल्याउनका लागि सरकारले विशेष र ठोस पहल गर्नुपर्नेमा जोड दिइन्। सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेर बजेट विनियोजनको अन्तिम तयारी गरिरहेका बेला उनले रोजगारी सृजना, कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राख्न माग गरिन्।

संसद्‌मा बोल्दै प्रमुख सचेतक थापाले भनिन्, “सरकार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेर अब बजेट विनियोजनको तयारीमा छ। त्यसैले स्वास्थ्य र शिक्षाको क्षेत्रमा बजेट कटौती होइन, प्रभावकारी लगानी आवश्यक छ। पोषण, शिक्षा र स्वास्थ्य– यी तीनवटा विषयलाई एउटै विकास सूचीमा जोड्न म सरकारलाई सुझाव दिन चाहन्छु।”

उनले माननीय अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै पूँजीगत खर्चको कमजोर अवस्था, निजी क्षेत्रमा व्याप्त निराशा र अस्वाभाविक मूल्यवृद्धिका कारण आम जनता समस्यामा परेको उल्लेख गरिन्। नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण राख्दै उनले थपिन्, “अहिले पनि अर्थतन्त्रका मुख्य चुनौती यथावत् छन्। पूँजीगत खर्च कमजोर छ, निजी क्षेत्र निरुत्साहित र त्रासमा छ। अस्वाभाविक मूल्य वृद्धिले जनता आत्तिएका छन्, युवा पलायन तीव्र छ, कृषिमा परनिर्भरता उच्च छ र सार्वजनिक सेवा जटिल एवं झन्झटिलो छ। आगामी बजेटले यी विषयलाई सम्बोधन गर्नैपर्छ।”

प्रमुख सचेतक थापाले स्वदेशमै रोजगारीको अवसर सृजना हुने र युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने खालका प्रभावकारी कार्यक्रमहरूलाई आगामी बजेटमा प्राथमिकताका साथ समेट्न सरकारसँग माग गरेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ