arrow

अमेरिकी नाकाबन्दीपछि कस्तो छ इरानको अवस्था ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
iran-maps.jpg

काठमाडौँ । इरानको गृह मन्त्रालयले देशमा अत्यावश्यक वस्तुहरूको आपूर्तिमा कुनै समस्या नरहेको र इरानलाई आर्थिक वा व्यापारिक रूपमा नाकाबन्दी गर्न असम्भव रहेको बताएको छ। शनिवार आयोजित एक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अली जेनिभान्डले देशको वर्तमान आपूर्ति व्यवस्था र सुरक्षा अवस्थाबारे विस्तृत जानकारी दिँदै यस्तो दाबी गरेका हुन्।

प्रवक्ता जेनिभान्डले दक्षिणी सीमाबाट हुने आयातमा केही प्राविधिक अवरोधहरू देखिए पनि पूर्वी, पश्चिमी र उत्तरी नाकाहरूबाट आपूर्ति शृङ्खला पूर्ण रूपमा सुचारु रहेको स्पष्ट पारे। उनीका अनुसार सरकारले विभिन्न प्रदेशका गभर्नरहरूलाई थप अधिकार प्रत्यायोजन गरेको छ। जसअन्तर्गत स्थानीय उद्योग र कार्यशालाहरूका लागि आवश्यक कच्चा पदार्थ सुनिश्चित गर्न छिमेकी प्रान्त तथा मित्र राष्ट्रहरूसँग सिधै समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

सैन्य तयारीका सन्दर्भमा प्रवक्ता जेनिभान्डले इरानी सशस्त्र बलहरू कुनै पनि परिस्थितिको सामना गर्न उच्च सतर्कताको अवस्थामा रहेको बताए। संयुक्त राज्य अमेरिका र इजरायलसँगको हालैको द्वन्द्व सुरु हुनुअघिको तुलनामा अहिले इरानी सेनाको सैन्य तयारी, रक्षात्मक रणनीति र क्षमता धेरै गुणा बढी मजबुत रहेको उनको दाबी छ।

विदेशी शक्तिहरूले इरानको आन्तरिक सुरक्षामा खलल पुर्‍याउन गरेका कतिपय सानातिना प्रयासहरूलाई त्यहाँका सुरक्षा बलले बेलैमा विफल तुल्याएको समेत उनले जानकारी दिए। यससँगै इरान सरकारले आफ्ना नागरिकहरूलाई अत्यावश्यक सामग्रीको आपूर्ति, बजार व्यवस्थापन र राष्ट्रिय सुरक्षाका विषयमा पूर्ण रूपमा आश्वस्त रहन र नआत्तिन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ