arrow

मोटरसाइकल दुर्घटनामा गुल्मीमा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
accident-final.jpg

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेको थियो । 

दुर्घटनामा घाइते भएका थापाकोे टाउकोमा चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको थियो । 

उनीहरू दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गएराति मृत्यु भएको प्रहरी जनाएको छ । 

दुर्घटनाको जानकारीप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । 

प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । शवलाई आज बिहान घटनास्थलमा मुचुल्का गरी परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याई पुर्याइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ