काठमाडौँ । ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरिएको छ । बल्खुस्थित मदननगरमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति एव एमालेका पूर्व महासचिव स्वर्गीय मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् ।
कार्यक्रममा एमालेका वर्तमान तथा पूर्व पदाधिकारी, नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्मृति सभाका अवसरमा नेता द्वय मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताइन् । भण्डारीले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई सङ्गठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्याएको उल्लेख गरिन्।
राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय भएको र यो सधैँ जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई उनीहरूले अझ गहिरो गरी स्थापित गरेको उनको भनाइ थियो।
भण्डारीले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जबजलाई नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात् गरिएको स्पष्ट पारिन् ।
यस विचारले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई सही दिशा निर्देश गर्दै नेकपा एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेकोसमेत बताइन् ।
मदन–आश्रितको आजैका दिन ३३ वर्षअघि चितवनको दासढुङ्गामा सडक दुर्घटनामा परी निधन भएको थियो ।