जनकपुरधाम। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारद्वारा घोषणा गरिएको निर्वाचन तिथि जनतालाई भ्रमित गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् ।
नयाँ शक्ति पार्टीद्वारा शनिबार जनकपुरधाममा आयोजित नयाँ धु्रवीकरण सभामा बोल्दै भटृराईले मधेसी, जनजाति, आदिवासीलगायतकालाई निर्वाचनमा जाने वातावरण नबनाएसम्म निर्वाचनको कुरा औचित्यहीन भएको बताए । उनले सीमाङ्कनको टुङ्गो नलागेसम्म निर्वाचन असम्भव भएको प्रसङ्ग उल्लेख गरे।
डा भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सत्ताको समीकरणका लागि उद्यत् देखिएको पनि बताए । उनले विद्यमान समस्याको निकासका लागि सर्वदलीय सरकारको आवश्यकता छ भन्दै सत्ता लम्ब्याउने खेलप्रति सजग हुन सबैलाई आग्रह गरे। भटृराईले मधेसी जनताको राष्ट्रवादितामा शंका गर्न नसकिने पनि बताए । रासस