काठमाडौँ । पूर्व प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीस्थानमा पछिल्लो एक महिनामा रु एक करोड छ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार वैशाख महिनामा मात्रै कुल रु १ करोड ६ लाख २८ हजार भेटी सङ्कलन भएको हो।
चैत र वैशाख महिना पाथीभरा दर्शनका लागि मुख्य सिजन मानिने भएकाले यो समयमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। समितिको तथ्याङ्क अनुसार अघिल्ला महिनाहरूको तुलनामा वैशाखमा भेटी सङ्कलनमा ठूलो वृद्धि देखिएको छ। गत चैत महिनामा रु ५८ लाख ५७ हजार ५०० सङ्कलन भएको थियो भने फागुनमा रु ३१ लाख १० हजार मात्र सङ्कलन भएको थियो।
भक्तजनको बढ्दो उपस्थितिसँगै सङ्कलित भेटीलाई क्षेत्र विकास समितिले मन्दिरको पूर्वाधार विकास र व्यवस्थापनमा उपयोग गर्दै आएको छ।