संसदीय मर्यादा पालना र संसद्को गरिमामा सांसदहरूको जोड
प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
471
Shares
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले संसदीय मर्यादाको पूर्ण पालना भएमा मात्र संसद्को गरिमा र प्रतिष्ठा वृद्धि हुने धारणा व्यक्त गरेका छन्।
बुधबार बसेको राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुँदा उत्पन्न भएका केही असहज परिस्थितिका विषयमा सरकारसँग जवाफ माग गरे।
सांसद पदमबहादुर परियारले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अत्यन्त महत्त्वपूर्ण विषय भएकाले यसलाई प्रधानमन्त्रीकै उपस्थितिमा अगाडि बढाउनु श्रेयस्कर र मर्यादित हुने बताए। उनले यसबारे राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको गम्भीर ध्यानाकर्षण गराउँदै सरकारको जवाफदेहिता खोजे।
यस्तै सांसदहरू सुरेश आलेमगर र रोशनी मेचेले संसद्भित्रको व्यवहारले लोकतान्त्रिक प्रणालीको प्रतिबिम्ब झल्काउने भएकाले सत्ता पक्ष र प्रतिपक्ष दुवैबाट संसदीय मर्यादा र संस्कारको पालना हुनुपर्नेमा जोड दिए। सांसदहरूले संसद्मा देखिने अशिष्ट र असंसदीय गतिविधिले आम नागरिकमा नकारात्मक सन्देश जाने भन्दै मर्यादित बहसको वातावरण बनाउन आग्रह गरे।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहे पनि प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी सांसदहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।