झापा । प्रमुख विपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियान सफल बनाउन भन्दै मधेसी र थारु मुलका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।
शुक्रबार साँझ झापामा बसेको स्थायी समितिको आकस्मिक बैठकले केन्द्रीय कमिटीमा १२ जना पूर्ण सदस्य र ९ जना वैकल्पिक सदस्य नियुक्ति गर्ने निर्णय गरेको एमालेका सचिव योगेश भट्टराईले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष केपी ओलीको अध्यक्षतामा झापाको बिर्तामोडमा बसेको बैठकले पार्टी कामको आवश्यकतालाई महसुस गरी उनीहरुलाई मनोनयन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
तराईका जिल्लाहरूमा आफ्नो पकड बनाउने उद्देश्यका साथ ‘मेची–महाकाली अभियान’ गर्न लागेको एमालेले तराईका जिल्लाहरूबाट प्रतिनिधित्व हुने गरेर केन्द्रीय कमिटीमा मनोनयन गरेको हो ।