पृथ्वी राजमार्गको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किए, ३७ जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
379
Shares
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा गएराति तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्। गएराति साढे ११ बजे भएको यो शृङ्खलाबद्ध दुर्घटनामा एक ट्रक र दुईवटा बस संलग्न रहेका थिए।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै, बागलुङतर्फ गइरहेको उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले फेरि पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको हो।
तीनवटै सवारी साधनमा गरी कुल ६८ जना यात्रु सवार थिए, जसमध्ये ३७ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको थियो।
प्राथमिक उपचारपछि तीन जना डिस्चार्ज भइसकेका छन् भने बाँकी ३४ जनाको अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालहरूमा पठाइएको छ। प्रहरीले दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान गरिरहेको छ।