अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण सञ्चालनमा ल्याइने, 'ई-गेट' प्रणाली जडान गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
457
Shares
काठमाडौँ । सरकारले मुलुकका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलहरूलाई पूर्ण क्षमतामा चलाएर प्रतिस्पर्धी हवाई सेवा सञ्चालन गर्ने बताए।
विशेष गरी हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गरिने उनले जानकारी दिए। सरकारले नागरिक उड्डयन क्षेत्रको पुनर्संरचना गर्दै निजी क्षेत्रलाई समेत समावेश गरी अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने नीति लिएको छ।
पर्यटकहरूका लागि भिसा सेवालाई पूर्ण रूपमा अनलाइन बनाइने र अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अत्याधुनिक 'ई-गेट' प्रणाली जडान गरिने भएको छ। अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्ने गरी एकद्वार डिजिटल प्रणाली लागू गर्ने योजना सरकारले अघि सारेको छ।
पर्वतीय पर्यटनको सुरक्षाका लागि खोज तथा उद्धार प्रणालीलाई आधुनिक बनाइनेछ। सरकारले 'भिजिट नेपाल २०८५' को पूर्वतयारी सुरु गर्दै पर्यटकको आगमन सङ्ख्या, बसाइ अवधि र प्रतिपर्यटक खर्च बढाउने गरी प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने बताए। यसका साथै नेपाललाई विश्वभर 'देव भूमि'का रूपमा चिनाउन विशेष अभियान सञ्चालन गर्ने घोषणा समेत गरिएको छ।