'स्टार्टअप नेपाल' मार्फत एकीकृत सेवा र कृषिमा नयाँ प्याकेजको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
322
Shares
काठमाडौँ । सरकारले नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट र बिउ पूँजी जस्ता सेवाहरू उपलब्ध गराउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले युवा जनशक्तिलाई स्वदेशमै व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाइने बताए।
ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवन दिन र कृषिलाई सम्मानित उद्यमका रूपमा विकास गर्न सरकारले बहुपक्षीय लगानी प्रवर्द्धन गर्ने नीति लिएको छ। उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भरताका लागि प्याकेजमा आधारित उत्पादन प्रणाली लागू गरिने तथा कृषिमा यान्त्रिकीकरणलाई तीव्रता दिँदै विशिष्टीकृत उत्पादन क्षेत्रहरू विकास गरी कृषि उपजलाई उद्योग र बजारसँग जोडिने उनले उल्लेख गरे।
यसैगरी वैदेशिक रोजगारीबाट सीप र अनुभव लिएर फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्ने सरकारको तयारी छ। किसानहरूलाई बजार र मूल्यको सुनिश्चितता दिलाउन मुख्य कृषि बाली लगाउनुअघि नै त्यसको न्यूनतम समर्थन मूल्य तोकिने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता राष्ट्रपतिले जनाए।
यो नयाँ नीतिले कृषि क्षेत्रको लागत न्यूनीकरण गर्न र कृषकहरूलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्टार्टअप पोर्टलको सहजताले नयाँ व्यवसायीलाई कानुनी झन्झटबाट मुक्ति दिने र कृषिमा आधारित उद्योगहरूको विस्तारमा सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।