सहकारी बचतकर्ताको रकम फिर्ता गर्न 'एकीकृत बचतकर्ता सुरक्षण कोष' स्थापना गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
312
Shares
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले 'एकीकृत बचतकर्ता सुरक्षण कोष' स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर्जा असुली प्रक्रियालाई तीव्र बनाएर बचतकर्ताको पैसा फिर्ता गरिने बताए। यसअघि नै सरकारले सहकारी ऐन संशोधनका लागि अध्यादेश जारी गरिसकेकाले सोही कानुनी आधारमा यो कोष परिचालन गरिनेछ।
नीति तथा कार्यक्रममा कर्जा सूचना प्रणालीलाई थप सुदृढ बनाउँदै अत्यधिक ऋण र मिटरब्याज जस्ता अपराध नियन्त्रणलाई प्राथमिकता दिइने उल्लेख छ। राष्ट्रपति पौडेलले पुँजीबजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने योजना समेत सार्वजनिक गरे। यसका लागि धितोपत्र नियमन निकाय, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र क्लियरिङ प्रणालीको पुनःसंरचना गरिनेछ।
सरकारले सेयर बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा कम्पनी र गैरआवासीय नेपालीहरूको सहभागिता विस्तार गर्ने नीति लिएको छ। यसका साथै ऋण बजार, वन बजार र पूर्वाधार जोखिम व्यवस्थापनका लागि नयाँ उपकरणहरू विकास गरी दीर्घकालीन पुँजी निर्माणमा जोड दिइने राष्ट्रपति पौडेलले बताए। यो कदमले पछिल्लो समय संकटमा परेको सहकारी क्षेत्र र पुँजीबजारमा सुधार आउने अपेक्षा गरिएको छ।