त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगियो टर्किस एयरको जहाज [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
604
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । टर्किएको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ।
टिके७२६ नम्बरको उक्त विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार आज बिहान विमान अवतरण भइरहँदा टायरमा आगो देखिएको थियो।
दमकलको तत्काल सहयोगमा आगो निभाइएको र अवस्था सामान्य रहेको उनले जानकारी दिए। घटनालगत्तै प्राविधिक जाँच र सुरक्षा सतर्कताका लागि केही समयका लागि विमानस्थलको धावनमार्ग (रनवे) बन्द गरिएको थियो ।
विमानमा २७३ जना यात्रु र ११ जना चालक दलका सदस्य (क्रू मेम्बर) सवार थिए। आगो लागेको केही समयमै सबै यात्रु र चालक दलका सदस्यहरूलाई सकुशल बाहिर निकालिएको थियो ।
टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएपछि विमानस्थल क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो।