arrow

प्रदूषित वाग्मतीप्रति क्षमायाचना गर्ने यात्रा ४२ दिनको पैदल भ्रमणपछि पशुपतिमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
pashupatinath-temple.jpg.jpeg

काठमाडौँ । आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको धार्मिक माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) समूह आइतबार पशुपति क्षेत्र आइपुगेको छ। 

भगवान् पशुपतिनाथ र वाग्मती नदीको महिमाबारे समस्त सनातनी नेपालीलाई जागृत गराउनुका साथै प्रदूषित वाग्मतीप्रति क्षमायाचना र प्रायश्चित गर्ने मुख्य लक्ष्यका साथ यो पदयात्रा आयोजना गरिएको थियो। महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा सुरु भएको यो यात्रा ४२ दिनको पैदल भ्रमणपछि पशुपति आइपुगेको हो।

गत चैत १५ गते पशुपति शङ्कराचार्य मठमा समुद्घाटन र १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ भएको यस पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो। कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि टोलीले सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र जनकपुर लगायतका विभिन्न जिल्लाहरूमा रहेका सिद्धलिङ्गहरूको पैदल दर्शन गरेको थियो। ४२ दिन लामो यस तीर्थयात्राका क्रममा पदयात्रीहरूले देशका विभिन्न भागमा रहेका पवित्र स्थलहरूको परिक्रमा गर्दै पशुपति क्षेत्रमा आफ्नो यात्रा टुङ्ग्याएका छन्।

सङ्कल्पकर्ता स्वामी रमणानन्द गिरिले पशुपति तत्वको गहन व्याख्या गर्दै पशुपतिनाथको लघु, मध्यम र बृहत् परिक्रमाका बारेमा प्रकाश पारेका थिए। भगवान् पशुपतिनाथले विश्वका अन्य धार्मिक क्षेत्रभन्दा नेपालको ऊर्जाशील भूमिलाई रोजेर वाग्मती तटमा विराजमान हुनुभएकाले यसको महत्त्व उजागर गर्न विज्ञहरूले जोड दिँदै आएका छन्। पशुपति आइपुगेपछि समूहले भुवनेश्वर, भष्मेश्वर र रुद्रगारेश्वरलगायतका तीर्थस्थलमा विधिवत् पूजा, आराधना र रुद्राभिषेक सम्पन्न गरेको छ। आज सोमबार बिहान पशुपतिनाथको मूल मन्दिरमा पूजा र वाग्मती नदीमा अर्घ्यदान गरेपछि यस बृहत् पदयात्राको औपचारिक समापन गरिँदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ