पाशुपत क्षेत्रमा ऐतिहासिक बछलेश्वरी, बज्रेश्वरी र आकाश भैरव जात्रा शुरू: देशोद्धार पूजा सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
1.7k
Shares
काठमाडौँ । पाशुपत क्षेत्रको गौरवमय सांस्कृतिक परम्पराका रूपमा रहेका बछलेश्वरी, बज्रेश्वरी र आकाश भैरव जात्रा विधिवत् रूपमा सुरु भएका छन्। आइतबार साँझ 'दुदुच्याच्या' अर्थात् निमन्त्रणा पूजापश्चात् बज्रेश्वरी देवीको विशेष 'देशोद्धार' पूजा सम्पन्न गरेसँगै जात्राको औपचारिक शुभारम्भ भएको हो।
संस्कृतिविद् मुकुन्द वैद्यका अनुसार, आइतबार रातभर तिलगंगा अगाडि पिङ्गलास्थानमा बाटोमुनि रहेका देवताको तान्त्रिक विधिबाट पूजा गरी पगारी बाँध्ने प्राचीन परम्परा पूरा गरिएको छ। नौ जातजातिको सहभागिता रहने यस ऐतिहासिक अनुष्ठानले दानवीय शक्तिबाट मानवको रक्षा गर्ने र समाजमा शान्ति कायम गर्ने जनविश्वास रहेको उनले बताए।
देशोद्धार पूजा नेपाली धार्मिक–सांस्कृतिक परम्पराको एक विशिष्ट कडी हो। मुलुकमा आइपर्ने महामारी, अनिष्ट र अशान्ति निवारण गरी राष्ट्रिय सुरक्षा, समृद्धि र लोककल्याणको कामनाका लागि यो पूजा गर्ने प्रचलन रहेको जानकारहरूले बताए। विशेषगरी बज्रेश्वरी, वच्छलेश्वरी र आकाश भैरव जस्ता शक्तिशाली देवदेवीको आवाहन गरिने यो पूजालाई लामो समयसम्म चल्ने जात्राहरूको सफलतापूर्वक सम्पन्नताको प्रतीकका रूपमा लिइन्छ।
यस जात्रा र पूजाको व्यवस्थापनमा पुस्तौँदेखि गुठी परम्पराको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। पलोवाल गुठियारले पालोको आधारमा पूजाको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने गरेका छन्। तान्त्रिक विधिअनुसार वर्तमान गुठियारले आफूभन्दा कान्छो गुठियारलाई आगामी वर्षको पूजा सञ्चालनका लागि 'पाबु' अर्थात् जिम्मेवारी सुम्पने संस्कारले यसको सांस्कृतिक निरन्तरता सुनिश्चित गरेको आयोजकले बताए। धार्मिक आस्था र सामाजिक जिम्मेवारीको सुन्दर समन्वय रहेको यो परम्परा उपत्यकाको धार्मिक जीवनमा आज पनि उत्तिकै जीवन्त रहेको छ।