सगरमाथा आधार शिविरमा अनधिकृत गतिविधि बढ्दा सरकारी उपस्थिति कमजोर
भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ?
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
437
Shares
काठमाडौँ। सगरमाथा आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिले अनधिकृत गतिविधि बढेको पाइएको छ । आरोहणका लागि पुगेका स्वदेशी तथा विदेशीहरुले राष्ट्रियता र सार्वभौकितामा समेत असर पर्ने किसिमका गतिविधि गर्ने गरेको आरोहण दलका सदस्यहरूले बताउने गरेका छन् ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणबाट उल्लेख्य राजस्व सङ्कलन भए पनि अवैधानिक तथा अनधिकृत गतिविधि बढेको प्रत्यक्षदर्शीहरुले बताए । हालै एक टेन्टमा भारतीय झन्डा फहराइएको तस्बिरप्रति धेरैले चासो देखाएका छन् ।
त्यहाँ नेपाल-भारतको संयुक्त झण्डा भए पनि भारतीय ठूलो र नेपाली झन्डालाई खुम्चाइए (सानो आकार) को देखिन्छ । इन्डो-तिब्बत सीमा प्रहरीको टोलीले झन्डा राखेको अनुमान गरे पनि आधिकारिक प्रमाण फेला परेको छैन ।
नेपाल सरकारको पर्यटन विभागको फिल्ड अफिस आधार शिविरमा भए पनि न्यून संख्याका कर्मचारी र क्षेत्राधिकार सीमित भएकाले अवैधानिक गतिविधि न्यूनीकरण हुन सकेको छैन ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले क्षेत्राधिकार भित्र रहेर अधिकतम् काम गरिरहेको प्रष्टाए ।
‘हामीसँग पाँच जनाको टोली छ, यो पर्याप्त होइन । जटिल भूगोल, स्वास्थ्य समस्या र अत्यावश्यक सामग्रीको अभाव छ । जोकोही लामो समयसम्म बसेर काम गर्ने अवस्था छैन । तर अवैध काम रोक्न भने हाम्रो टोली सक्रिय छ,’ उनले भने ।
सगरमाथाको अन्तर्राष्ट्रिय गौरवलाई कायम राख्दै तोकिएको क्षेत्राधिकारभित्र रहेर काम गर्दा सानातिना कमजोरीहरूलाई अतिरन्जित नगर्न उनले आग्रह समेत गरे ।
‘भौगोलिक अवस्था जटिल रहेकाले सबैतिर सरकारी नजर नपुगेको हुनसक्छ, आरोहीहरुको संख्या धेरै भएकाले काम गर्न सहज छैन् । तर गौरवको विषयलाई ध्यान दिनपर्ने बाध्यता छ,’ उनले भने ।
यता, विभागको फिल्ड कार्यालयले अनाधिकृत रुपमा राखिएका झन्डा वा अन्य सामग्रीहरू हटाइसकेको दाबी गरेको छ ।
साथै अन्य अवैध गतिविधि नियन्त्रणमा सक्रिय रहेको जनाएको छ ।