काठमाडौं । अव्यवस्थित सडक विस्तार निर्माण तथा बढ्दो सवारी साधनको कारणले काठमाडौंमा तीव्र रुपले धुवाँधुलो बढेको छ । फलस्वरूप शहरका लाखौं मानिसको ज्यान संकटमा परिरहेको छ । विश्वकै प्रदुषित सहरमा काठमाडौंको समेत गणना भइसक्दा पनि सरकारले अझै यस विषयलाई गम्भीरतापूर्वक नलिएको र सरकारको यस्तो मौनताले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको हनन भएको भन्दै विवेकशील नेपाली दलले शुक्रबार कलंकी स्थित मकालु पेट्रोल पम्प अगाडी “धुलोमाण्डौमा साहित्य” कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अभियान कर्ताहरुले धुलोमाण्डौ विषयमा रहेर विभिन्न साहित्यिक रचना; कविता तथा नाटक देखाए ।
कार्यक्रमलाई थप रचनात्मक र सन्देशमुलक बनाउने उद्देश्यका साथ एक बिरामी, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री तथा जनसङ्ख्या मन्त्री सम्मिलित पात्रहरु बनाई मास्क वितरण तथा प्रदुषणबाट जोगिऔ भन्दै सन्देश दिईएको थियो ।
“हामीलाई अहिलेको सडक बिस्तार पूर्ण भैसक्नु अघि नै घाट पुग्ने पो हो की भन्ने डर लाग्न थालेको छ ।” अभियन्ता प्रितम सुवेदीले बताए । व्याप्त धुलो-धुवाँ हुने काठमाडौँका मुख्य स्थानहरु मध्य कलंकी एक हो, हाम्रो ज्यान नै जाने खतरा मा छ त्यसै कारण यसको विरुद्ध हामीले यस कार्यक्रम कलंकी मा गरेका हौ ।