arrow

एलेनको विष्फोटक शतकमा कोलकाताको जित, दिल्लीको प्लेअफ यात्रा लगभग समाप्त

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
kk-finaley.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा कोलकाता नाइट राइडर्सले चौथो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको हो। यो हारसँगै दिल्लीको प्लेअफ यात्रा लगभग समाप्त भएको छ भने कोलकाताको अन्तिम चारमा पुग्ने सम्भावना अझै बलियो बनेको छ।

यो सिजन दिल्लीले ७ हार बेहोरेका कारण टोली तालिकाको आठौँ स्थानमा छ। अब बाँकी रहेका सबै खेलहरू जिते पनि अन्य टोलीहरूको नतिजा र 'नेट रन रेट' मा निर्भर रहनुपर्नेछ, जुन प्राविधिक रूपमा निकै कठिन देखिन्छ।

१४३ रनको लक्ष्य पछ्याएको कोलकाताका लागि ओपनर फिन एलेनले विष्फोटक ब्याटिङ गर्दै अविजित शतक प्रहार गरे। उनले ४७ बलमा ५ चौका र १० छक्काको मद्दतले १०० रन बनाए। एलेनले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउनुका साथै आफ्नो शतक समेत पूरा गरेका थिए। उनलाई क्यामरन ग्रीनले ३३ रन बनाएर साथ दिए।

सुरुवातमा कोलकाताले ३१ रनमा दुई विकेट गुमाएको थियो। कप्तान अजिंक्य रहाणे १३ रन र अंगकृष रघुवंशी मात्र १ रनमा आउट भएपछि दबाबमा परेको टोलीलाई एलेन र ग्रीनको शतकीय साझेदारीले सहज जिततर्फ डोहोऱ्याएको थियो।

यसअघि अरुण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो। दिल्लीका लागि ओपनर पाथुम निसांकाले २९ बलमा ५० रनको अर्धशतकीय पारी खेले। त्यस्तै आशुतोष शर्माले ३९ रन र केएल राहुलले २३ रनको योगदान दिए।

कोलकाताका बलरहरू अनुकूल रोय र कार्तिक त्यागीले २–२ विकेट लिए भने वैभव अरोडा, सुनील नरेन र क्यामरन ग्रीनले १–१ विकेट हात पारे। दिल्लीका एक ब्याटर रनआउट भएका थिए। कोलकाताले १४३ रनको लक्ष्य मात्र १४.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ