आइतबार काठमाडौँमा ‘गीता मैत्री मिलन’ हुँदै, १७ सय उपस्थित हुने, जोड नैतिक र आध्यात्मिक जागरणमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
477
Shares
काठमाडौँ । गीता परिवार नेपालले वैशाख २७ गते आइतबार काठमाडौँमा “गीता मैत्री मिलन कार्यक्रम–२०८३” आयोजना गर्ने भएको छ। संस्थाले शुक्रबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै समाजमा नैतिक, सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको हो ।
आयोजकका अनुसार पछिल्लो समय समाजमा बढ्दै गएको नैतिक विचलन, पारिवारिक विखण्डन, सामाजिक तनाव तथा युवापुस्तामा देखिएको दिशाहीन अवस्थालाई ध्यानमा राख्दै गीता दर्शनमार्फत सकारात्मक सन्देश फैलाउने उद्देश्य राखिएको छ । कार्यक्रममा “गीता पढौं, पढाऔं र जीवनमा लागू गरौं” भन्ने मूल नारालाई केन्द्रमा राखिने गीता परिवार नेपालका सचिव रामप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रम व्यवस्थापनका लागि गीता परिवार नेपालका संस्थापक तथा संरक्षक जयकिशन सारडाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । संस्थाकी अध्यक्ष सारिका अग्रवाल, सचिव अधिकारीलगायत पदाधिकारी, प्रशिक्षक र गीतासेवीहरू विभिन्न समिति तथा उपसमितिमा सक्रिय रहेको परिवारले जनाएको छ ।
संस्थाले दिएको जानकारीअनुसार कार्यक्रममा देशभरका विभिन्न जिल्ला तथा शाखाबाट करिब १७ सय सहभागी उपस्थित हुने अपेक्षा गरिएको छ । सचिव अधिकारीले सबैलाई व्यक्तिगत रूपमा सम्पर्क गरेर कार्यक्रममा सहभागी हुन निम्तो दिइएको बताए ।
संस्थापक सारडाले कोरोनाका समयमा २०७७ साल मंसिर ३ गते स्थापना भएको गीता परिवारमा नेपालबाट १५ हजारभन्दा बढी सेवाग्राही आबद्ध रहेको जानकारी दिए । उनले विश्वभर १५ लाख भन्दा बढी गीताका साधक रहेको भन्दै नेपालमा छोटो समयमा १५ हजार पुगेको र यो अब तीव्र रूपमा बढ्ने दाबी गरे ।
उनले अहिलेसम्म अनलाइनमार्फत साधकहरूलाई गीताको प्रवचन दिँदै आइएकामा अब समाजलाई समुन्नत बनाउन टोलटोलमा यसको विकास गरिने बताए । अनलाइनमा साधक बनेकाहरूबीच पहिलोपटक आइतबार वृहत मिलन कार्यक्रम राखिएको बताउँदै उनले अब यस्ता कार्यक्रम भौतिक रूपमा पनि गरिने बताए ।
अध्यक्ष सारिका अग्रवालले दैनिक मात्र ४० मिनेटको समय दिँदा जीवन नै बदलिएको बताइन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा धर्मगुरु, आध्यात्मिक अभियन्ता, समाजसेवी, शिक्षक, युवा तथा विद्यार्थीहरूको सहभागिता रहने बताइएको छ । आयोजकका अनुसार कार्यक्रम केवल धार्मिक जमघट मात्र नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा अघि बढाइनेछ । विशेषगरी बालबालिका र युवामा नैतिक मूल्य, अनुशासन, सकारात्मक सोच तथा संस्कार विकासमा जोड दिइने जनाइएको छ।
आइतबारको कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्ददेव गिरी महाराजको विशेष सान्निध्य रहनेछ। उनी श्रीराम जन्मभूमि तीर्थ क्षेत्र अयोध्याका कोषाध्यक्षसमेत हुन् । गिरी बिहीबारै काठमाडौँ आइसकेका छन् । साथै गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा. आशु गोयलसहित विभिन्न देशका साधक तथा पदाधिकारीको पनि उपस्थिति रहने भएको छ।
आइतबार बिहान ९ः३० बजेदेखि शुरू हुने कार्यक्रममा श्रीमद्भगवद्गीतामाथि प्रवचन, योग तथा ध्यान अभ्यास, भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति, युवा अभिमुखीकरण तथा बाल संस्कार कार्यक्रम लगायतका गतिविधि हुने छन् ।
संस्थाले गीता दर्शनलाई आधुनिक समाजका चुनौती समाधान गर्ने मार्गदर्शनका रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ। आयोजकका अनुसार गीता केवल धार्मिक ग्रन्थ नभई जीवन जिउने कला सिकाउने दार्शनिक मार्गदर्शक पुस्तक हो।
गीता परिवार नेपाल ले समाजमा आध्यात्मिक चेतना फैलाएर सभ्य, अनुशासित र जिम्मेवार नागरिक निर्माण गर्न खोजिएको जनाएको छ। संस्थाले सामाजिक सद्भाव, पारिवारिक एकता तथा सकारात्मक जीवनशैली प्रवर्द्धनमा गीता अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रम आयोजकहरूले नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली समुदायबीच पनि गीता दर्शन फैलाउने दीर्घकालीन योजना रहेको बताएका छन्। संस्थाले आफ्नो अभियानलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ।
पछिल्ला वर्षहरूमा युवा पुस्तामाझ योग, ध्यान र आध्यात्मिक कार्यक्रमप्रति आकर्षण बढ्दै गएको सन्दर्भमा यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार तीव्र आधुनिकता र सामाजिक परिवर्तनका बीच मानिसहरू मानसिक शान्ति तथा मूल्य–आधारित जीवनशैलीतर्फ आकर्षित भइरहेका छन्।
कार्यक्रम सफल बनाउन आयोजकले सम्पूर्ण धर्मप्रेमी, समाजसेवी, अभिभावक तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेका छन्।