arrow

आईपीएल

हैदराबाद शीर्ष स्थानमा उक्लियो, लगातार तेस्रो हारसँगै पञ्जाब दोस्रोमा झर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
srh-083.jpg

काठमाडौँ । सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ३३ रनले पराजित गर्दै आईपीएल २०२६ को अङ्क तालिकामा शीर्ष स्थान हासिल गरेको छ। अर्कोतर्फ यस सिजनमा पञ्जाबले लगातार तेस्रो हार व्यहोर्नुपरेको छ। यो हारपछि पञ्जाब पहिलो स्थानबाट दोस्रो नम्बरमा झरेको छ।

सनराइजर्स ११ खेलमा ७ जितसहित १४ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको हो भने पञ्जाब १० खेलमा ६ जितसहित १३ अङ्कका साथ दोस्रो स्थानमा खुम्चिएको छ।

राजीव गान्धी इन्टरनेशनल स्टेडियममा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २३५ रनको विशाल योगफल तयार पार्यो। २३६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो।

हैदराबादका लागि हेनरिक क्लासेन र इशान किशनले अर्धशतक प्रहार गरे। क्लासेनले ४३ बलमा ६९ रन बनाए भने इशानले ३२ बलमा ५५ रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि ८८ रनको साझेदारी भएको थियो। त्यस्तै, क्लासेन र नितिश रेड्डी (२९) बीच चौथो विकेटका लागि ६३ रनको साझेदारी भयो। ओपनिङमा अभिषेक शर्मा (३५) र ट्राभिस हेड (३८) ले ५५ रन जोडेका थिए। पञ्जाबका लागि लोकी फर्गुसन, विजयकुमार वैशाख र युजवेन्द्र चहलले १–१ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबको प्रदर्शन अपेक्षा अनुसार रहन सकेन। टोलीले फिल्डिङका क्रममा ३ वटा क्याच छोडेको थियो भने ब्याटिङमा पनि लगातार विकेट गुमायो। पञ्जाबका लागि कूपर कोनोलीले ५९ बलमा अविजित १०७ रनको सानदार शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। उनीबाहेक मार्कस स्टोइनिसले २८ र सूर्यांश शेडगेले २५ रन बनाए।

हैदराबादको बलिङमा प्याट कमिन्स र शिवाङ कुमारले २–२ विकेट लिए। त्यस्तै नितिश रेड्डी, इशान मलिङ्गा र साकिब हुसेनले १–१ विकेट हात पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ