काठमाडौँ। पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात कम्पनीको नेतृत्वबाट बाहिरिएका छन् ।
कम्पनीले सार्वजनिक गरेको बिदाई सन्देशमार्फत उनले नेतृत्व छाडेको पुष्टि गरेको हो ।
सन् २०१८ मा नेपालमा प्रवेश गरेको पठाओलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व गर्दै आएका सिंहले देशको मोबिलिटी क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
नेपालमा राइड सेयरिङ/राइड हेलिङ सेवाको विस्तार र लोकप्रियतामा उनको नेतृत्व निर्णायक मानिन्छ ।
पठाओले ‘असम्भव जस्तो लागेको विचारलाई व्यवहारमा उतार्दै’ कम्पनीलाई स्थापित ब्रान्ड बनाउन सिंहको योगदान उल्लेखनीय रहेको जनाएको छ ।
कम्पनीले उनलाई केवल व्यवसाय निर्माणकर्ता मात्र नभई नेपालको स्टार्टअप इकोसिस्टममा नवप्रवर्तन, विश्वास र उद्यमशीलताको संस्कृति विकास गर्ने व्यक्तित्वका रूपमा चित्रण गरेको छ ।
उनको नेतृत्वमा पठाओले नेपाली बजारमा राइड हेलिङ सेवाको नयाँ मानक स्थापित गर्दै सेवाको मागलाई तीव्र रूपमा बढाएको थियो ।
सिंह पछिल्लो समय सार्वजनिक जीवनमा पनि सक्रिय देखिएका थिए ।
उनी गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए ।
कम्पनीले उनको बिदाइसँगै भविष्यका लागि शुभकामना व्यक्त गर्दै उनको योगदानलाई संस्थाको आधारको रूपमा स्मरण गर्ने उल्लेख गरेको छ ।