पर्बत । पर्वतको फलेवास—हुवास सडक खण्ड अन्र्तगत निर्माणधिन मुडिकुवा लमायखोला सडकखण्डको काम अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदार भागेपछि सडक निर्माणको कार्य अलपत्र परेको हो । फलेवासको मुडीकुवा देखि लमाएखोला सम्मको करिब ७ दशमलव ६ किलोमिटर सडक खण्डमा २०७४ आषाढसम्म कालोपत्रे गर्ने काम सम्पन्न गर्ने गरि २०७२ सालमा सम्झौता भएको थियो । तर, सडक निर्माणको काम विचमै अलपत्र पारी ठेकेदार सम्पर्कबिहीन भएपछि कालोपत्रे गर्ने काम त्यसै अलपत्र परेको छ ।
पर्वत क्षेत्र नं. २ मा नै पहिलो पटक कालोपत्रे हुन लागेको दक्षिणी पर्वत जोड्ने सबैभन्दा व्यस्त तथा व्यापारीक,कृषि क्षेत्रको रुपमा रहेको सो सडक खण्डको निर्माण गर्न वसीफ ओभरसिज ईन्जिनियरिङ प्रा.लि.भरतपुर चितवनले १२ करोड ३८ लाख ६२ हजारमा ठेक्का लिएको थियो ।
सडकमा आषाढ मसान्तमा सक्ने भनिएपनि हालसम्म ५० प्रतिशत मात्र काम भएको छ । ठेकेदारले पछिल्लो पटक यहि फागुन पहिलो साता रकम बुझेको देखिन्छ । ठेकेदारले २०७२÷०७३ को १ करोड ९६ लाख २६ हजार ९ सय र ०७३÷०७४ को २ करोड ४० लाख २४ हजार १ सय ५१ रुपैँया बुझिसकेका छन् । अब ८ करोड १ लाख ७० हजार ३ सयको हाराहारीमा सडकको सम्पुर्ण काम सकिसक्नुपर्ने देखिन्छ ।