पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध, अन्य सडकमा पनि समस्या
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
278
Shares
काठमाडौँ । विगत केही दिनदेखि जारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा पहिरो जाँदा सडक यातायात प्रभावित भएको छ। विशेष गरी अरनिको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार गत वैशाख १६ गतेदेखि खसेको सो पहिरोका कारण आजसम्म पनि राजमार्ग सञ्चालन हुन सकेको छैन।
यसैगरी बाढी र पहिरोका कारण अन्य पहाडी सडकहरूमा पनि अवरोध सिर्जना भएको छ। भोजपुर नगरपालिका–५ बोखिमको मइ पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएपछि हाल वैकल्पिक बाटो प्रयोगमा ल्याइएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
अवरुद्ध भएका राजमार्गहरू खुलाउने प्रयास भइरहेको भए पनि निरन्तरको वर्षा र भौगोलिक कठिनाइका कारण समय लागिरहेको छ। प्रहरीले पूर्ण रूपमा अवरुद्ध भएका र एकतर्फी मात्र सञ्चालनमा रहेका सडकखण्डहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र सुरक्षाका मापदण्ड पालना गर्न सम्पूर्ण यात्री तथा चालकहरूलाई आग्रह गरेको छ।
वर्षायामको सुरुवाती चरणमै सडकहरूमा अवरोध देखिएकाले पहाडी भेगमा यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र निस्कन सुझाव दिइएको छ।