यी हुन् थबाङ जीप दुर्घटनामा ज्यान गुमाउने २० जना, जसमा पाँच जना बालबालिका
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
347
Shares
दाङ। रोल्पामा बिहीबार जीप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । मृतकमध्ये पाँच जना बालबालिका छन्। जसमा १० वर्षीय दिव्यन बिसी, १३ वर्षीय सुदीप बुढाथोकी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी र सात वर्षीय संयोग जिसी छन्।
साथै मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका-५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तीलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, २४ वर्षीया सिर्जना बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी छन् ।
यसैगरी दाङको घोराही उपमहानगर-१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपती जिसी, ३२ वर्षीया तिला जिसी, , २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही-१३ बस्ने धनमाया बिष्ट रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनील थापाले जानकारी दिए।
थापाका अनुसार दाङ शान्तिनगर गाउँपालिका स्थायी घर भइ हाल रुकुम सिस्ने-५ बस्ने जीप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने-५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका-५ का टेकप्रसाद बस्नेत र सिस्ने ५ कै २७ वर्षीया रुक्मिणा बस्नेतको पनि सोही दुर्घटनामा ज्यान गएको छ।
दुर्घटनास्थल अत्यन्तै अप्ठ्यारो भौगोलिक क्षेत्रमा रहेकाले उद्धार तथा शव निकाल्न केही ढिलाइ भएको प्रहरीले जनाएको छ ।
रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप बिहीबार दिउँसोे रोल्पाको थबाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
जीपमा चालकसहित २१ जना सवार रहेका थिए । तीमध्ये २० जनाको घटनास्थलममा नै मृत्यु भएको थियो । मृतक सबैको शवपरीक्षणका लागि थबाङस्थित आधारभूत अस्पतालमा ल्याइएको छ ।
छतमा बसेका रुकुम पूर्व सिस्ने गाउँपालिका-५ टाकुराका ३२ वर्षीय समीर कामी मात्रै जीवित छन् । उनले जीप दुर्घटना हुन लाग्दा छतबाट हामफालेर रूखको जरामा समातिँदै ज्यान जोगाएका हुन् ।
उनको थबाङ आधारभूत अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि गएराति पूर्वी रुकुम अस्पतालमा लगिएकामा अहिले उनलाई अस्पतालले घर पठाएको छ ।
उनको बायाँ खुट्टा, निधार र आँखामा चोट लागेको अस्पतालले जनाएको छ । दुर्गम भेग, निरन्तर वर्षा र कमजोर सञ्चार सञ्जाल, कच्ची सड्कलगायत कारण उद्धार कार्यमा कठिनाइ भएको रोल्पा प्रहरीले बताइएको छ ।
घटना भएको खबरलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको बिहीबार उद्धारमा जुटेका हुन् ।
उनीहरूले अबेररातिसम्म उद्धार कार्यमा लागे पनि बिहीबार उद्धार कार्य नसकिएपछि शुक्रबार बिहानैदेखि सुरक्षाकर्मी र स्थानीयवासीको सहभागितामा उद्धार कार्य सम्पन्न गरिएको हो ।
मृतकको शव सडकसम्म ल्याउन निकै कठिनाइ भएको सुरक्षा अधिकारीले जनाएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कच्ची तथा चिप्लो सडक, लगातारको वर्षा र क्षमताभन्दा बढी यात्रु बोकेका कारण जीप अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ ।
मृतक सबै वैशाख पूर्णिमाको अवसरमा शुक्रबार जलजलामा लाग्ने बराह पूजामा सहभागी हुन जान लागका तीर्थयात्री हुन् ।