बैंगलुरूलाई चार विकेटले हरायो गुजरातले, पाँचौँ स्थानमा उक्लियो
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
354
Shares
काठमाडौँ । बिहीबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ४ विकेटले पराजित गरेको छ। यस जितसँगै गुजरातले जारी सिजनमा आफ्नो पाँचौँ जित दर्ता गरेको छ भने बैंगलुरूले तेस्रो हार बेहोर्नु परेको छ। हाल बैंगलुरू १२ अङ्कका साथ दोस्रो स्थानमा छ भने गुजरात १० अङ्क बटुल्दै पाँचौँ स्थानमा उक्लिएको छ।
अहमदाबादमा भएको खेलमा गुजरातले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको बैंगलुरू १९.२ ओभरमा १५५ रन बनाउँदै अलआउट भयो। जवाफमा १५६ रनको लक्ष्य पछ्याएको घरेलु टोली गुजरातले १५.५ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो। राशिद खानले सुयश शर्माको बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए।
यस खेलमा कुनै पनि ब्याटरले अर्धशतक (फिफ्टी) बनाउन सकेनन्। गुजरातका कप्तान शुभमन गिल सर्वाधिक स्कोरर रहे, जसले ४३ रनको योगदान दिए। त्यस्तै बैंगलुरूका तर्फबाट देवदत्त पडिक्कलले ४० रनको पारी खेले।
बलिङतर्फ गुजरातका लागि अरशद खानले ३ विकेट लिए भने जेसन होल्डर र राशिद खानले २–२ विकेट चट्काए। मोहम्मद सिराज र कागिसो रबाडाको भागमा १–१ विकेट रह्यो।
बैंगलुरूका तर्फबाट भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले जोस बटलर (३९ रन), कप्तान शुभमन गिल (४३ रन) र साई सुदर्शन (६ रन) लाई आउट गरे। यस प्रदर्शनसँगै भुवनेश्वर कुमार यस सिजनको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।