काठमाडौँ ।‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक नाराका साथ सन् १८८६ मा अमेरिकाको सिकागोबाट सुरु भएको मजदुर आन्दोलनको स्मरण गर्दै आज नेपालसहित विश्वभर १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।
सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा मनाउन थालिएको यो दिवसलाई श्रमिकहरूले आफ्नो हक, अधिकार र न्यायका लागि सरकार र रोजगारदातालाई दबाब दिने एउटा महत्त्वपूर्ण अवसरका रूपमा लिने गरेका छन्। नेपालमा विसं २००७ को विराटनगर मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो भने विसं २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले यस दिन सार्वजनिक बिदा दिन थालेको इतिहास छ।
यस वर्षको दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशैभर विभिन्न छलफल र बहसका कार्यक्रमहरू आयोजना गरेको छ, जसमा श्रमिकको वर्तमान अवस्था, न्यूनतम ज्याला, र अनौपचारिक क्षेत्रका श्रमिकलाई औपचारिक दायरामा ल्याउने रणनीतिका विषयमा सरोकारवालाहरूबीच संवाद भइरहेको छ।
सरकारले हाल श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ र प्रत्येक दुई वर्षमा यसको पुनरावलोकन गर्ने कानुनी व्यवस्थाअनुसार सरोकारवाला पक्षहरूसँग परामर्श गरिरहेको छ। श्रम सम्बन्ध तथा सामाजिक संरक्षण महाशाखाका अनुसार श्रम ऐन २०७४ र नियमावली २०७५ को प्रभावकारी कार्यान्वयनमार्फत आन्तरिक श्रम बजारलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रयास जारी छ।
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको ठुलो योगदान रहेको सन्दर्भमा सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र शोषणमुक्त बनाउने नीति अख्तियार गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूले आर्जन गरेको सीप, प्रविधि र पुँजीलाई स्वदेशको उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने कार्यक्रमहरू पनि मन्त्रालयको प्राथमिकतामा परेका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत हालसम्म करिब २९ लाख श्रमिकहरू कोषमा आबद्ध भइसकेका छन्, जसमा औपचारिक क्षेत्रका थप श्रमिकहरूलाई समेट्ने प्रयास भइरहेको छ।
बदलिँदो विश्वव्यापी परिवेश र प्रविधिको विकासले श्रम बजारमा ल्याएको तीव्र परिवर्तनसँगै नयाँ जनशक्तिलाई रोजगारीको सुनिश्चितता गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ। सरकारले स्वदेशमै दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र गरिबी निवारणमा योगदान पुर्याउने दूरगामी लक्ष्य राखेको छ। आजको यस विशेष दिवसले सबै श्रमिकहरूलाई आफ्नो अधिकारप्रति सचेत गराउँदै मर्यादित श्रमको वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षलाई जिम्मेवार बनाउने विश्वास लिइएको छ।