एमसीए परियोजनाः धानखोला-लमही सडक स्तरोन्नतिको सिलान्यास
हाम्राकुरा,
प्रकाशित २०८३ वैशाख १६ बुधबार
430
Shares
लुम्बिनी । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्यको औपचारिक रुपमा सिलान्यास भएको छ ।
बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ गरेका हुन् । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फुल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिने भएको छ ।
यी प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै सडकलाई बलियो, टिकाउ र वातावरणमैंत्री बनाउने बताइएको छ । यसबाट दीर्घकालीन रुपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने अपेक्षा गरिएको छ ।
आयोजनाअन्तर्गत सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई-दुई मिटर सोल्डर निर्माण गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ ।
सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अत्याधुनिक प्रविधिको प्रयोगले गुणस्तरीय हुने बताए । उनले सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र भरपर्दो बनाउनुका साथै स्थानीय व्यवसाय, कृषि र उद्यममा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल-अमेरिका साझेदारीको महत्वपूर्ण उदाहरणका रुपमा यस आयोजनालाई लिनुपर्ने बताए ।
उनले ढुवानी लागत घटाउने, सडक सुरक्षा अभिवृद्धि गर्ने र स्थानीय समुदायलाई बजारसँग जोड्ने लक्ष्यमा यो परियोजना केन्द्रित रहेको स्पष्ट पारे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह-सचिव सुशीलबाबु ढकालले एमसीए-नेपालको लगानी सरकारका योजना तथा कार्यक्रमको पूरकका रुपमा रहेको बताए ।
यस सहकार्यले पूर्वाधार विकास र आर्थिक अवसर विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । एमसीसीका राष्ट्रिय आवासीय उप-निर्देशक सञ्जय पौड्यालले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने प्रविधिमार्फत् लागत प्रभावकारी पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताए ।
एमसीए-नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको महत्वपूर्ण परियोजना भएको उल्लेख गर्दै पारदर्शी र उच्च गुणस्तरसहित कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाए ।
शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिका प्रतिनिधि सौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । सडकखण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो ।
निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा-कुमार जेभीले पाएको हो । गत पुस ७ गते एमसिए-नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।
निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) मा काम गर्ने जिम्मा लिएको छ । नेपाल सरकारको मापदण्डअनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने भाग ७ मिटर चौडा र दुवैतर्फ २.५-२.५ मिटर कालोपत्रे सोल्डर रहने गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ ।
उक्त सडक खण्डमा प्रयोग हुने फूल-डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधिअन्तर्गत सडकमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुनः प्रयोग गर्न सकिनेछ ।