काठमाडौँ । अविरल हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यनेपाल नगरपालिका–१० स्थित विमिरे भञ्ज्याङमा खसेको पहिरोका कारण आज बिहानैदेखि सवारी आवागमन रोकिएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार गएरातिदेखि निरन्तर भइरहेको वर्षाले सडकमा ठुलो पहिरो खसालेको छ। वर्षा नरोकिएका कारण पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको र सडक सुचारु गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ।
पहिरोका साथै यस सडकखण्डमा पर्ने विभिन्न खोलाहरूमा पानीको बहाव उच्च भएकाले पनि सवारीसाधन सञ्चालन गर्न जोखिमपूर्ण रहेको छ। सडक अवरुद्ध भएपछि यस मार्ग भएर यात्रा गर्ने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। प्रहरीले सुरक्षित स्थानमा रहन र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ।