arrow

रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
roshi-khola-bp-highway.jpg

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लामा जारी अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन पुन: बगाएपछि बीपी राजमार्ग मंगलबार साँझदेखि फेरि पूर्ण रूपमा बन्द भएको छ। सोमबार साँझ मात्र मर्मत गरेर आंशिक रूपमा सञ्चालनमा ल्याइएको यो सडक २४ घण्टा नबित्दै पुनः अवरुद्ध हुन पुगेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार साँझ परेको भारी वर्षाले खोलामा पानीको सतह बढेपछि निर्माण गरिएका डाइभर्सनहरूमा क्षति पुगेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तत्कालका लागि सवारी आवागमनमा रोक लगाएको हो। यसअघि शनिबार पनि बाढीले सडक बगाउँदा यो राजमार्ग अवरुद्ध भएको थियो।

यात्रुलाई सास्ती र वैकल्पिक सम्पर्क
सडक बन्द भएसँगै काठमाडौंबाट पूर्वी नेपालतर्फ जाने र पूर्वबाट राजधानी आउने सयौँ सवारी साधन तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन्। प्रतिकूल मौसमका कारण सडक मर्मतमा समेत चुनौती थपिएको छ। प्रहरीले मौसममा सुधार आएपछि र सडक सुरक्षित भएपछि मात्र अर्को सूचनामार्फत यातायात सुचारु गरिने जानकारी दिएको छ।

प्रहरीले यात्रा तय गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आपतकालीन अवस्थामा १०० वा १०३ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ