arrow

हर्मुज जलमार्ग पुनः खोल्न गुटेरेसको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
antonio-guterres-pokhara.jpg

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को खुला छलफलमा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्न आह्वान गरेका छन्।

सामुद्रिक क्षेत्रमा जलमार्गको सुरक्षा र संरक्षणसम्बन्धी छलफलका क्रममा उनले गत चैतको शुरूदेखि जलडमरूमध्यमा आएको अवरोधले विश्वव्यापी ऊर्जा सुरक्षा, खाद्यान्न आपूर्ति र व्यापारमा गम्भीर प्रभाव परेको बताएका छन्।

हर्मुज जलडमरूमध्य विश्वकै अत्यन्त महत्वपूर्ण सामुद्रिक सङ्कुचित मार्गमध्ये एक हो। यस मार्गबाट विश्वको करिब पाँचमध्ये एक भाग खनिज तेल, पाँचमध्ये एक भाग तरल प्राकृतिक ग्यास र करिब तीनमध्ये एक भाग अन्तर्राष्ट्रिय रूपमा किनबेच हुने मल ओसारपसार हुने गर्दछ।

महासचिवका अनुसार यस अवरोधको आर्थिक प्रभाव तुरुन्त देखिएको छ। ऊर्जा तथा वस्तु बजारमा तीव्र अस्थिरता आएको, ढुवानी तथा बीमा खर्च बढेको र कोभिड-१९ महामारी तथा रुस-युक्रेन युद्धपछिको सबैभन्दा गम्भीर आपूर्ति शृङ्खला अवरोध उत्पन्न भएको छ।

उनले यी दबाबहरूले इन्धन अभाव, पसलका दराज खाली हुनु र खाद्यान्न संकटको जोखिम बढाएको बताएका छन्। मानवीय क्षति बढ्दो छ भने ढुवानीमा ढिलाइ र खर्च वृद्धि हुँदा जीवनरक्षक सामग्रीको आपूर्ति सुस्त बनेको छ।

यो संकट खेतीपातीको महत्वपूर्ण समयमा परेको उल्लेख गर्दै उनले लामो समयसम्म अवरोध रहिरहे विश्वव्यापी खाद्यान्न संकट निम्तिन सक्ने चेतावनी दिए। यसले विशेषगरी अफ्रिका र दक्षिण एसियाका लाखौँ मानिसलाई भोकमरी र गरिबीतर्फ धकेल्न सक्ने बताइएको छ।

उनका अनुसार यसको असर सबैभन्दा बढी कम विकसित देशहरू र साना टापु विकासशील राष्ट्रहरूमा परेको छ, जो समुद्री आयातमा अत्यधिक निर्भर छन्।

महासचिव गुटेरेसले अहिलेको अवस्था संयम, संवाद र विश्वास निर्माणको समय भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र सामुद्रिक असुरक्षाका मूल कारण समाधान गर्न सबै पक्षलाई आह्वान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ