वासिङ्टन र तेहरानबीच पुनः वार्ताको उच्च सम्भावना - महासचिव गुटेरेस
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
1.6k
Shares
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वासिङ्टन र तेहरानबीच पुनः वार्ता सुरु हुने उच्च सम्भावना रहेको बताएका छन्। उनले हालको संकटको कुनै पनि सैन्य समाधान नभएको स्पष्ट पारे।
महासचिव गुटेरेसले एक दिगो शान्ति सम्झौताका लागि दुवै पक्षबीच निरन्तरको संलग्नता र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक पर्ने उल्लेख गरे।
उनले मंगलबार नै पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इशाक डारसँग भेटवार्ता गरेको जानकारी दिए पनि उक्त भेटको थप विवरण भने खुलाएनन्।
पाकिस्तानले गत सप्ताहान्तमा इस्लामावादमा अमेरिका र इरानबीचको पछिल्लो चरणको वार्ता आयोजना गरेको थियो।
यद्यपि, उक्त वार्तामा सहभागी पक्षहरू कुनै ठोस सम्झौतामा पुग्न भने सकेका थिएनन्। महासचिवको पछिल्लो भनाइले असफल वार्ताका बाबजुद कूटनीतिक संवादको सम्भावना अझै जीवितै रहेको संकेत गरेको छ।