arrow

काठमाडौँमा सिक्री लुट्ने गिरोह पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
nepal-police12.jpg

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लामो समयदेखि सक्रिय यो समूहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित सोमबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ र २१ वर्षीय सुजन तामाङ रहेका छन्। त्यस्तै, नुवाकोट विदुरका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुकी १९ वर्षीया रितिका माझीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत चैत १२ र १९ गते तथा वैशाख ६ गते भएका लुटपाटका घटनाहरूको अनुसन्धानका क्रममा यो गिरोहको संलग्नता खुलेको हो। प्रहरीले उनीहरूको साथबाट १२.९० ग्राम सुन, खुकुरी, पेचकस, विभिन्न साइजका रेन्चहरू, मोबाइल र लुटपाट गर्दा प्रयोग गरेका लुगाफाटाहरू बरामद गरेको छ।

तारकेश्वर नगरपालिकाको पैँयुटारबाट पक्राउ परेका उनीहरूमाथि अहिले प्रहरी वृत्त थानकोटमार्फत थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ। पछिल्लो समय सडकमा हिँड्ने महिलाहरूलाई लक्षित गरी हुने यस्ता घटनाले सुरक्षा चुनौती थपेको भन्दै प्रहरीले थप सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ