नारायणगढ–बुटवल सडक विस्तार: दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
316
Shares
काठमाडौँ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डमा पर्ने दाउन्ने सडकको एकतर्फी ढलान कार्य अब अन्तिम चरणमा पुगेको छ। आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार यस खण्डमा अब मात्र २०० मिटर लम्बाइमा ढलानको काम बाँकी रहेको छ र यो कार्य सम्पन्न हुनासाथ एकतर्फी पक्की सडक पूर्ण रूपमा जोडिनेछ।
दाउन्नेको पूर्वी खण्डमा पर्ने कुल ३.९ किलोमिटर सडकमध्ये अधिकांश भागमा ढलान सकिइसकेको छ भने वर्षायाम सुरु हुनुअघि नै यो कार्य सकेर यात्रा सहज बनाउने लक्ष्य राखिएको छ। हाल पूर्वी खण्डको ६५ किलोमिटर सडकमध्ये करिब ७ मिटर मात्र कच्ची अवस्थामा रहेको र समग्र भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ।
उता दाउन्नेको पश्चिम खण्डमा भने १० किलोमिटर क्षेत्र पर्दछ, जसमा ७ किलोमिटर ढलान गर्नुपर्नेमा अझै करिब २,७०० मिटर काम बाँकी रहेको छ। यस क्षेत्रमा ३ किलोमिटरमा पहिलो चरणको कालोपत्रे सकिएको छ भने हाल पहिरो नियन्त्रण र कल्भर्ट निर्माणका कार्यहरू भइरहेका छन्।
सन् २०१९ फेब्रुअरीदेखि सुरु भएको यस आयोजनाको ११३ किलोमिटर सडक विस्तारको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि अहिले चौथो पटक म्याद थप गरेर अघि बढाइएको छ। एसियाली विकास बैंकको १६ अर्ब ९९ करोडभन्दा बढी ऋण सहयोगमा निर्माणाधीन यो सडक पूर्ण रूपमा तयार भएपछि दाउन्ने क्षेत्रमा तीन लेन र अन्य क्षेत्रमा चार लेनसहितको अत्याधुनिक सडक हुनेछ।