रातो मत्स्येन्द्रनाथको रथ लगनखेल पुग्यो: आज रातिदेखि बलि पूजा शुरू हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
303
Shares
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत रथलाई यतिबेला ललितपुरको लगनखेल बसपार्क पुर्याइएको छ। परम्परा र पौराणिक मान्यताअनुसार रथलाई आज सोही स्थानमा राखिनेछ।
आज रातिबाट यस स्थानमा राँगा, बोका र हाँसको अण्डाको बलि दिने विशेष धार्मिक विधि शुरू हुने गर्दछ, जसलाई जात्राको एक महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ। ललितपुरको सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको यो जात्रा हेर्न र मत्स्येन्द्रनाथको दर्शन गर्न ललितपुरका साथै आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनहरूको घुइँचो लागेको छ।
नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मत्स्येन्द्रनाथको रथयात्राको इतिहास लिच्छविकालीन राजा नरेन्द्रदेवको पालादेखि शुरू भएको मानिन्छ। पौराणिक कथाअनुसार, काठमाडौँ उपत्यकामा १२ वर्षसम्म परेको भीषण खडेरी अन्त्य गर्नका लागि यो जात्राको आरम्भ गरिएको थियो।
गुरु गोरखनाथले नवनागहरूलाई आफ्नो आसनमुनि थुनेर ध्यानमा बसेका कारण वर्षा रोकिएको जनविश्वास छ। उक्त सङ्कटबाट मुक्ति पाउन राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापू मिलेर गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई भारतको कामरूप कामाख्याबाट नेपाल ल्याएका थिए। आफ्ना गुरु आएको थाहा पाएर गोरखनाथ उठेपछि नागहरू स्वतन्त्र भएको र उपत्यकामा वर्षा भएको सम्झनामा यो जात्रा प्रत्येक वर्ष मनाइँदै आएको छ।