arrow

सुपर ओभरमा कोलकाताको रोमाञ्चक जित, लखनउ झर्‍यो दशौँ स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
kkr-2026.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पहिलो सुपर ओभरमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई रोमाञ्चक ढङ्गले पराजित गरेको छ। इकाना स्टेडियममा भएको खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा १५५ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिइएको हो।

पहिले ब्याटिङ गरेको लखनउलाई कोलकाताका बलर सुनील नरेनले कसिलो बलिङ गर्दै मात्र १ रनमा रोके र २ विकेट लिए। २ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताका लागि रिंकू सिंहले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। 

कोलकाताको जितका प्रमुख आधार रिंकू सिंह रहे। उनले ५१ बलमा अविजित ८३ रनको विस्फोटक पारी खेले, जसमा ७ चौका र ५ छक्का समावेश थिए। ब्याटिङका साथै फिल्डिङमा पनि उनले ५ वटा क्याच समातेर रेकर्ड बनाए। उनले मैदानमा एडन मार्करम, मुकुल चौधरी, हिम्मत सिंह, जर्ज लिन्डे र सुपर ओभरमा रोभम्यान पावेलको शानदार क्याच लिएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ९३ रनमा ७ विकेट गुमाएर निकै कमजोर सुरुवात गरेको थियो। तर रिंकूले पारी सम्हाल्दै अन्तिम ओभरमा दिग्वेश राठीको बलमा लगातार ४ छक्का प्रहार गरेर टोलीलाई १५५ रनको सम्मानजनक योगफलमा पुर्‍याए। लखनउका मोहसिन खानले ५ विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको लखनउका लागि कप्तान ऋषभ पन्तले ४२ र एडन मार्करमले ३१ रन बनाए। अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा मोहम्मद शामीले अन्तिम बलमा छक्का प्रहार गरेपछि खेल बराबरी (टाई) भएको थियो।

यो जितसँगै कोलकाता ८ खेलमा २ जित र ५ हारसहित अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ (एक खेल वर्षाका कारण रद्द भएको थियो)। अर्कोतर्फ, ६ खेलमा हार बेहोरेको लखनउ १०औँ स्थानमा झरेको छ। लखनउलाई प्लेअफमा पुग्न अब बाँकी रहेका सबै ६ खेल जित्नुपर्ने दबाब छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ